काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले संगठनलाई व्यक्ति होइन, नीतिको आधारमा सञ्चालन हुने संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहणपछि उनले सशस्त्र प्रहरीलाई विधि, प्रणाली र संस्थागत मूल्यमा आधारित बनाउने लक्ष्य रहेको बताए। साथै मानव स्रोत विकास, आधुनिक प्रविधिको प्रयोग र नतिजामुखी कार्यशैलीमा जोड दिने उनले उल्लेख गरे।
उनका अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति–सुव्यवस्था कायम गर्ने भूमिकालाई थप प्रभावकारी बनाइनेछ। संगठनलाई सेवामुखी र जनउत्तरदायी बनाउन सरकारको शासकीय सुधार योजनाअनुसार काम अघि बढाइने पनि उनले बताए।
गृहसचिवले भने सरुवा–बढुवा प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन निर्देशन दिएका छन्। साथै विपद् व्यवस्थापनमा तयारी बढाउन पनि आग्रह गरिएको छ।
पूर्वआईजीपीको कार्यकालमा सुरु भएका डिजिटल प्रणाली र प्रशासनिक सुधारलाई निरन्तरता दिँदै संगठनलाई अझ आधुनिक र पारदर्शी बनाउने चुनौती नयाँ नेतृत्वमाथि आएको छ।


