काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा चिनीको अभाव नहुने नेपाल चिनी उद्योग संघले जनाएको छ।
संघका अनुसार देशका १३ उद्योगहरूले यस क्रसिङ सिजनमा करिब १ लाख ९० हजार टन चिनी उत्पादन गरेका छन्, जसमा ठूलो मात्रामा मौज्दात अझै बाँकी रहेको छ। बजार, उद्योग र आयातसमेत जोड्दा आपूर्ति पर्याप्त रहेको संघको दाबी छ।
संघले चिनी पर्याप्त भएकाले तत्काल मूल्यवृद्धि नहुने स्पष्ट पारेको छ। साथै, भारतको प्रतिबन्धलाई कारण देखाएर बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र अनावश्यक स्टक नगर्न उपभोक्ता तथा व्यापारीलाई आग्रह गरेको छ।
संघले आगामी क्रसिङ सिजनसम्म पनि आपूर्ति सहज रहने बताउँदै बजार स्थिर रहने आश्वासन दिएको छ।


