इन्डोनेसियामा अन्तर्राष्ट्रिय अनलाइन ठगी गिरोहमा संलग्न भएको आशंकामा ७ जना नेपालीसहित ११ जनालाई पक्राउ गरिएको छ।
सेन्ट्रल जाभा प्रहरीका अनुसार पक्राउ परेकामध्ये ४ जना म्यानमारका नागरिक छन्। उनीहरू ‘रोमान्स स्क्याम’ शैलीमा सामाजिक सञ्जाल र डेटिङ एपमार्फत पीडितसँग सम्बन्ध बनाउँदै नक्कली लगानी योजनामा पैसा लगाउन लगाउने कार्यमा संलग्न रहेको आरोप छ।
प्रहरीले गिरोहले टिन्डर, बम्बल र फेसबुकजस्ता प्लेटफर्म प्रयोग गरी ठगी सञ्चालन गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले करिब ४१ अर्ब इन्डोनेसियाली रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।
नेपालीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर इन्डोनेसिया ल्याई ठगी कार्यमा प्रयोग गरिएको आशंका पनि गरिएको छ।


