पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३–२४ को जेनजी आन्दोलनमा चितवनमा क्रियाशील प्रमुख राजनीतिक दलका नेता–कार्यकर्ताहरू तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रतिवेदन अनुसार रास्वपा, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र विप्लव समूहका जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताले भीड नेतृत्व गरेका थिए। प्रदर्शनमा ५३ सरकारी कार्यालय, ७४ पालिका तथा वडा कार्यालय, ६ दलका कार्यालय, ५१ निजी भवन, सञ्चार संस्था, ८६ चारपांग्रे र १०६ दुईपांग्रे सवारी साधन क्षति भएका छन्।
आगोमा परी दुईजनाको मृत्यु भएको र चितवन कारागारबाट ७५० कैदीबन्दी फरार भएकोमा ६१४ मात्रै फर्केको प्रतिवेदनमा उल्लेख छ। क्षति मूल्यांकन अनुसार भौतिक सम्पत्ति १ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी नष्ट भएको छ।


