नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्य नियुक्ति विवादमा तानिएको छ। खुला प्रतिस्पर्धामा सहभागी २७ मध्येबाट मन्त्रीस्तरीय निर्णयमार्फत ५ जनालाई छनोट गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ।
उजुरीकर्ताले योग्यता र प्राप्तांक बेवास्ता गर्दै “चलखेल” का आधारमा नियुक्ति गरिएको आरोप लगाएका छन्। तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने सबै प्रक्रिया मेरिट, कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा पारदर्शी रूपमा गरिएको दाबी गरेको छ।
मन्त्रालयका अनुसार विज्ञ समूहले मूल्याङ्कन गरी उत्कृष्ट ठहरिएकालाई छनोट गरिएको हो र नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप नभएको स्पष्ट पारेको छ।


