काठमाडौँ, चैत २० – मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारका अनुसार प्रतिवादीहरूले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म समितिको रकम बिल भुक्तानी विना र नक्कली कागजात प्रयोग गरी व्यक्तिगत स्वार्थमा खर्च गरेका थिए। समितिको अध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यसमेत यसमा संलग्न रहेको देखिएको छ।
विशेष अदालत काठमाडौँमा दायर भएको आरोपपत्रमा १२ लाख १८ हजार ५१२ रुपैयाँको हिनामिनाको विवरण समावेश गरिएको छ। अख्तियारले समितिको सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजन र बिना प्रमाण खर्च गरिएको उल्लेख गरेको छ।


