विराटनगरसहित देशभर शनि जयन्ती श्रद्धा र भक्तिपूर्वक मनाइएको छ। ज्येष्ठ कृष्ण औँसीका दिन पर्ने यो अवसरमा शनिदेवको विशेष पूजा–आराधना गरिएको हो।
विराटनगरका शनि मन्दिर र नवग्रह पीठहरूमा बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको थियो। साढेसाती, अढैया वा शनिदोष निवारणका लागि श्रद्धालुहरूले विशेष पूजा गरेका थिए।
शनि देवलाई न्याय र कर्मफलका देवता मानिन्छ। यस अवसरमा तेल, कालो तिल, फलाम, कालो कपडा र मासको दाल दान गर्ने परम्परा रहेको छ।
मन्दिरहरूमा भजनकीर्तन, महायज्ञ र महाआरतीसहित विशेष धार्मिक कार्यक्रम समेत आयोजना गरिएको थियो।


