Friday, June 05, 2026
Home > मुख्य समाचार > सम्पत्ति शुद्धीकरण अनुसन्धान: तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीमाथि छानबिन तीव्र

सम्पत्ति शुद्धीकरण अनुसन्धान: तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीमाथि छानबिन तीव्र

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक शक्तिमा रहेका शीर्ष नेताहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले विस्तृत अनुसन्धान अघि बढाएको छ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वमन्त्रीहरू आरजु राणा देउवा तथा दीपक खड्कामाथि अनुसन्धान भइरहेको छ।

अनुसन्धानकै क्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई सीआईबीले आइतबार पक्राउ गरी ७ दिनको म्याद थप गरेको छ।

गत २४ भदौको जन-आन्दोलनका क्रममा नेताहरूको घरमा भेटिएका जलेका नोट र कागजातको फरेन्सिक रिपोर्ट ‘पोजेटिभ’ आएपछि अनुसन्धानले तीव्रता पाएको हो।

विभागले बैंक खाता, सेयर लगानी, कम्पनी र जग्गा जमिनको विवरण संकलन गर्न राष्ट्र बैंक र मालपोत कार्यालयलाई पत्र पठाइसकेको छ।

पदमा रहँदा नीतिगत भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको, गिरीबन्धु टी-इस्टेट जग्गा प्रकरण, यती होल्डिङ्सलाई ट्रस्टको जग्गा भाडामा दिएको, र जलविद्युत् लाइसेन्स वितरणमा अनियमितता, नेताहरूका आफन्त (भूषण राणा, प्रकाश देउवा आदि) मार्फत विदेशमा सम्पत्ति व्यवस्थापन गरेको आशंका गरिएको छ।

पछिल्लो निर्वाचनमा रास्वपाले एकल बहुमतको सरकार बनाएपछि वर्षौंदेखि रोकिएका यी ठूला भ्रष्टाचार फाइलहरू खुलेका हुन्। पूर्वडीआईजी हेमन्त मल्लका अनुसार, शक्तिशाली नेताहरूमाथि यसरी अनुसन्धान हुनुले विधिको शासन स्थापनामा ठूलो सहयोग पुग्ने देखिन्छ।

अनुसन्धान सुरु भएपछि धेरैजसो आरोपित नेता र उनीहरूका आफन्तहरू हाल सम्पर्कविहीन वा देशबाहिर रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *