काठमाडौं, वैशाख १४ — त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ ६ बजेसम्म ९३१ सुकुम्बासी परिवारले नाम दर्ता गराएका छन्। ती परिवारका करिब ३ हजार ९३५ सदस्यमध्ये १५ सयभन्दा बढी बालबालिका रहेको अधिकारीहरूले जनाएका छन्।
सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका बस्ती हटाएपछि विस्थापित भएका बासिन्दा अहिले दर्ता प्रक्रियामा सहभागी भइरहेका छन्। रंगशालामा स्थापना गरिएको हेल्प डेस्कमार्फत विवरण संकलन भइरहेको छ भने दर्तापछि उनीहरूलाई पाँचवटा होल्डिङ सेन्टरमा बसोबासको व्यवस्था गरिएको छ।
स्वास्थ्य परीक्षण, खाना तथा आधारभूत सेवाको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ। विस्थापित परिवारहरू अझै पनि दर्ता तथा व्यवस्थापन प्रक्रियामा सहभागी भइरहेका छन्।


