नेपालमा अझै पनि असुरक्षित गर्भपतनका कारण मातृ मृत्यु हुने जोखिम कायम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। विराटनगरमा आयोजित एक कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार ५३ प्रतिशत गर्भ अनिच्छित हुने गरेको र त्यसमध्ये ७३ प्रतिशतले गर्भपतन गर्ने गरेका छन्।
तर गर्भपतनमध्ये केवल ४८ प्रतिशत मात्रै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित रूपमा हुने गरेको छ भने बाँकी ५२ प्रतिशत अझै पनि गैरकानुनी र असुरक्षित तरिकाले भइरहेको पाइएको छ। कोशी प्रदेशमा २८१ वटा सूचीकृत सुरक्षित गर्भपतन सेवा केन्द्र रहेको जानकारी पनि दिइयो।
कार्यक्रममा न्यायाधीश, चिकित्सक र कानुनविद्हरूले कानुनी अस्पष्टता, दण्डमुखी कानुन र अधिकारमुखी ऐनबीचको द्वन्द्वका कारण सेवा प्रदायकहरू समस्या भोगिरहेको उल्लेख गर्दै सुरक्षित गर्भपतनलाई स्पष्ट कानुनी व्यवस्था र जनचेतनासहित अघि बढाउनुपर्नेमा जोड दिएका छन्।


