भोजपुर, २ चैत्र । भोजपुरमा भएको दुई घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
जिल्लामा चट्याङले एक र रुख लडेर ढुङ्गाले लाग्दा एक जना गरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । जिल्लाको षडानन्द नगरपालिका वडा नम्वर–९ भैंसेमा वर्षासँगै परेको चट्याङ लाग्दा आइतवार स्थानीय २५ वर्षीया शर्मिला तामाङको मृत्यु भएको छ । घरमै बसि रहेको चट्याङले बेहोस उनको घटनास्थलमै मृत्यु भएको प्रनाउ लामाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय दिङला र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उमेश प्रसाद यादवको नेतृत्वमा कानुनी प्रक्रियाका लागि प्रहरी टोली गएको छ ।
यस्तै साल्पासिलिछो गाउँपालिका वडा नम्वर–५ सोहरा (पिछम्मा) क्षेत्रमा रुख लडेर ढुङ्गाले लाग्दा ३० वर्षीय आशिष तामाङको मृत्यु भएको छ । प्रहरीका अनुसार काठ काट्ने स्थानमा त्रिपाल टाँगी अस्थायीरूपमा बस्दै आएका उनलाई वर्षासँगै आएको हावाहुरीका कारण करिब ६० मिटर माथिबाट रुख लडेर खसेको ढुङ्गाले लागेको थियो ।
गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रनाउ लामाले बताउनुभयो । मृतक तामाङ भोजपुर नगरपालिका वडा नम्वर ६, देउरालीका हुन ।
अन्य दुई जना घाइतेहरुलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र दोभाने पठाइएको छ । भोजपुर नगरपालिका २ हेलौछा बस्ने २० बर्षका समिर तामाङ र वडा नम्वर १० का ३० बर्षका शिव कुमार राई घाइते भएका हुन । समिरको ढाडमा र शिवको टाउकोको पछाडी भागमा चोट लागेको छ ।


