बागलुङ — कालीगण्डकी नदीमा क्रसर उद्योग र स्वार्थ समूहले ढुङ्गा, गिटी, बालुवा ठेक्का लगाएर बढी दोहन गरिरहेकाले नदीको प्राकृतिक स्वरूप परिवर्तन हुँदै नदी सभ्यता संकटमा परेको छ।
अनुगमनमा कालाखोला र गलुवा बगरमा नदीलाई पर्वततर्फ फर्काएर २५० मिटरभन्दा बढी लम्बाइ र ७ मिटर गहिराइमा उत्खनन गरिएको देखिएको छ। संरक्षणकर्मी आरके अदिप्त गिरीले चेतावनी दिए, “सधैं चोर–पुलिसको खेल भइरहेको छ, अब डोजरमुक्त कालीगण्डकी बनाउनुपर्छ।”
जिल्ला समन्वय समितिले दोहन रोक्न अनुगमन तीव्र बनाएको र मापदण्डविपरीत उत्खनन भए कारबाही गरिने जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भने, “कालीगण्डकी जोगाउन बागलुङ, म्याग्दी र पर्वत जिल्ला एकजुट हुनुपर्छ।”


