काठमाडौं । प्रतिनिधिसभामा बोल्दा असंसदीय र आपत्तिजनक शब्द प्रयोग नगर्न सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आग्रह गरेका छन्।
बिहीबारको बैठकमा सभामुख अर्यालले संसद् नियमावलीअनुसार अशिष्ट, अश्लील, अपमानजनक तथा कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने शब्द प्रयोग नगर्न ध्यानाकर्षण गराए। उनले संसदमा प्रस्तुत हुने धारणा मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
यसै क्रममा उनले रास्वपा सांसद गणेश पराजुलीले अघिल्लो बैठकमा प्रयोग गरेका केही शब्दहरू संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन पनि दिएका छन्। विपक्षी सांसदहरूले ती शब्द हटाउन माग गरेका थिए।
सभामुखको यो आग्रहले संसदमा मर्यादित बहस र अभिव्यक्तिको संस्कार कायम गर्नुपर्ने सन्देश दिएको छ।


