सप्तरीको कञ्चनरुप नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘नो पार्किङ’ नियम कडाइका साथ लागू गरेको छ भने टिपर र ट्रक सञ्चालनमा समयसीमा तोकेको छ। बजार क्षेत्रको जाम घटाउने र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
नगरप्रमुख ललन प्रसाद गुप्ताका अनुसार रुपनगर–फत्तेपुर बाइपासमा टिपर तथा ट्रक बिहान ५ देखि बेलुका ८ बजेसम्म मात्र चल्न पाउनेछन्। कञ्चनपुर–फत्तेपुर मुख्य सडकमा भने राति ८ देखि बिहान ५ बजेसम्म मात्र सञ्चालन अनुमति दिइएको छ, दिउँसो पूर्ण रोक लगाइएको छ। मुख्य बजार क्षेत्रमा दुवैतर्फ पार्किङ निषेध गरिएको छ भने ‘पालैपालो पार्किङ’ प्रणाली लागू गरिएको छ। ट्राफिक संकेत राख्दै प्रहरी र नगर टोलीले चालकलाई सचेत गराउने काम गरिरहेका छन्।


