विराटनगर — सवारी ब्लू बुक नवीकरणका नाममा ठगी गर्ने एक लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय कमलकुमार स्वर्णकार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले सरकारी छाप र हस्ताक्षर किर्ते गरी नक्कली रूपमा सवारी कागजात नवीकरण गरिदिने र सेवाग्राहीबाट रकम असुल्ने गरेका थिए।
उनको घरबाट ११ थान ब्लू बुक बरामद गरिएको छ। घटनामा संलग्नता र ठगीको परिमाणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


