लुम्बिनी, २२ चैत २०८२ – प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै अघि बढिरहेको बताएका छन्। बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सेनाको पेसागत दक्षता र कार्यकुशलताका कारण हालै सम्पन्न आम निर्वाचन सुरक्षित र भयरहित वातावरणमा सम्पन्न भएको बताए।
सिग्देलले नेपाली सेनाले देशको सार्वभौमिकता, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै स्वदेश र विदेशमा सम्मान प्राप्त गरेको उल्लेख गरे। उनले सैनिक अनुशासन र एकताको परम्परालाई गौरवमय बताउँदै भविष्यमा पनि सेनाको परम्परा र समर्पणलाई जगेर्ना गर्ने कुरामा जोड दिए।


