सिरहाको सलहेश फूलबारी मा नयाँ वर्ष (वैशाख १) को अवसरमा लाग्ने ऐतिहासिक मेलाका लागि भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ। मेला सुरु हुनुभन्दा दुई दिनअघि नै भक्तजनको चहलपहल बढेको छ।
नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल अवलोकन र पूजा गर्न नेपाल–भारतबाट हजारौँ श्रद्धालु यहाँ पुग्ने गर्छन्। हाल फूल फुल्न थाले पनि पूर्ण रूपमा फक्रिन बाँकी छ।
बढ्दो भीडसँगै धर्मशाला लगायत पूर्वाधार अभाव देखिएको छ। लोककथाअनुसार यो स्थल राजा सलहेश र मालिनीको प्रेमसँग जोडिएको मानिन्छ, जहाँ पूजा गर्दा सन्तान प्राप्ति र रोगबाट मुक्ति पाइने जनविश्वास छ।


