विराटनगरमा जारी ३८औँ विराट गोल्डकपको सेमिफाइनल आजबाट सुरु हुँदैछ। पहिलो खेलमा नेपाल पुलिस क्लब र झापा–११ साँझ ६ बजे सहिद रंगशालामा आमनेसामने हुनेछन्। दुवै टोली पूर्वविजेता भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
झापा–११ ले उद्घाटन खेलमै आर्मीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो भने पुलिस क्लबले मछिन्द्रलाई सडेन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
यता, सम्राट स्पोर्टिङ क्लबले झारखण्डको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा सम्राट र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
दुवै सेमिफाइनलका विजेता टोली वैशाख ५ गते उपाधिका लागि भिड्नेछन्।


