काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार सेवा अवधिमा तिवारीको वैध आम्दानी करिब १४ करोड ५१ लाख रुपैयाँ भए पनि खर्च तथा लगानी २५ करोडभन्दा बढी देखिएको छ। यस आधारमा करिब १० करोड ५४ लाख रुपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन भएको दाबी गरिएको छ।
मुद्दामा तिवारीकी श्रीमती र छोरीलाई पनि प्रतिवादी बनाइएको छ। अवैध सम्पत्ति उनीहरूको नाममा समेत राखिएको र बैंक खातामा जम्मा गरिएको देखिएकाले जफत प्रयोजनका लागि उनीहरूलाई समावेश गरिएको अख्तियारले जनाएको छ।


