काठमाडौँ, वैशाख १३ — इन्धनको मूल्यवृद्धि र अमेरिकी डलरको उच्च विनिमय दरका कारण बजारमा तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग का अनुसार चैत महिनामा केही तरकारीको मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। काउली, घिउ सिमी, फर्सी र ब्रोकाउलीमा उच्च मूल्यवृद्धि देखिएको छ।
इन्धन महँगिँदा ढुवानी खर्च बढ्नु र आयात महँगो हुनु मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ। साथै डलर बलियो हुँदा ‘आयातित मुद्रास्फीति’ बढेर खाद्यान्न र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत उकालो लागेको छ।
विभागले बजार अनुगमन कडाइ र अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनलाई प्राथमिकता दिने जनाएको छ।


