काठमाडौं — सरकारले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनाएको छ। थापाथली, गौरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाइसकिए पनि अझै करिब २६ वटा बस्ती बाँकी रहेको प्रहरीको तथ्यांक छ।
काठमाडौं, भक्तपुर र ललितपुरका नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका बस्ती खाली गर्ने अभियान अन्तर्गत हालसम्म केही स्थानमा बस्ती हटाइएका छन् भने प्रभावित परिवारलाई अस्थायी रूपमा विभिन्न स्थानमा सारिएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरभित्र मात्र एक हजारभन्दा बढी सुकुम्बासी परिवार छन्। तर समग्र उपत्यकामा अव्यवस्थित बसोबासको संख्या अझै धेरै रहेको अनुमान छ।
सरकारले बाँकी बस्ती हटाउने विषयमा छलफल भइरहेको जनाएको छ, तर ठोस निर्णय भने अझै भएको छैन।


