काठमाडौं । इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ।
व्यवसायीहरूले बिहीबार सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएका हुन्। महासंघले बढ्दो लागतका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै ठेक्काको मूल्य समायोजन र रोकिएका आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरेको छ।
महासंघका पदाधिकारीहरूले माग सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन्। साथै, आन्दोलनका कार्यक्रमअन्तर्गत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ।


