काठमाडौं । हर्क साम्पाङले आफ्नो पार्टीका प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति थप सक्रिय हुन निर्देशन दिएका छन्।
श्रम–संस्कृति पार्टीको कार्यक्रममा उनले नेताहरूले व्यक्तिगत जिल्ला वा क्षेत्रमै सीमित नभई समग्र संगठनलाई समान रूपमा हेर्नुपर्ने बताए। उनका अनुसार जिम्मेवारी बढ्दै जाँदा काम देखिन कम भए पनि दायित्व भने अझ बढ्छ।
साम्पाङले पार्टीलाई “काम गर्ने पार्टी” भन्दै प्रत्येक सदस्यले श्रमदानमार्फत सामाजिक काममा सहभागी हुनुपर्नेमा जोड दिए। उनले वृक्षरोपण, सरसफाइजस्ता गतिविधि नियमित गर्न आग्रह गरे।
उनले संगठन निर्माण चरणमा सक्रिय सदस्यलाई मात्र महाधिवेशनमा उम्मेदवारी र मतदानको अवसर दिने योजना रहेको पनि बताए। साथै, महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने र संगठनलाई लोकतान्त्रिक रूपमा अघि बढाउने उल्लेख गरे।


