साउदी अरेबियाले अवैध रूपमा बसोबास गर्दै आएका ६३ नेपालीलाई स्वदेश फर्कनका लागि ‘एक्जिट भिसा’ प्रदान गरेको छ।
रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा प्राप्त गरेका नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्कन आग्रह गरेको छ। मोबाइलमा भिसा म्यासेज प्राप्त भएकाहरूले एयरपोर्टमै सोही म्यासेज देखाएर यात्रा गर्न सक्ने जनाइएको छ।
दूतावासका अनुसार एक्जिट भिसा प्रक्रिया निःशुल्क भए पनि नेपाल फर्किने हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्नेछ। इकामाको म्याद सकिएर अवैध अवस्थामा रहेका नेपालीहरूलाई साउदी सरकारले यसै प्रक्रियामार्फत स्वदेश फिर्ता पठाउँदै आएको छ।


