विराटनगर— नेपाल–भारत सीमामा बढ्दो तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल मोरङले विराटनगर–जोगवनी नाकाको नेपालतर्फ काँडे तार लगाएर घेराबारा गरेको छ। साथै सीमावर्ती क्षेत्रमा रहेका ३७ वटा प्वालसमेत बन्द गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार अवैध रूपमा सामान ओसारपसार, पर्खाल नाघ्ने तथा वारपार गर्ने गतिविधि बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो। सोमबार मात्र करिब ५ लाख ४८ हजार रुपैयाँ बराबरका कस्मेटिक सामग्री, लत्ताकपडा र खाद्यान्न बरामद गरिएको छ।
सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा नियमित गस्ती र निगरानी थप गर्दै तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको जनाएको छ।


