काठमाडौँ – सरकारले सरकारी कार्यालयमा अनियमितता र भ्रष्टाचार रोक्न उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। मुख्य सचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग र कार्यालयलाई परिपत्र गर्दै कार्यालय प्रमुखलाई जवाफदेही बनाउने आदेश दिएका छन्।
परिपत्रअनुसार, सरकारी निकायमा कुनै पनि अनियमितता फेला परेमा प्रारम्भिक जिम्मेवारी कार्यालय प्रमुखको हुनेछ। साथै, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदै सेवा प्रवाहमा पारदर्शिता, नैतिकता र तटस्थता कायम राख्न निर्देशन दिइएको छ।
अर्यालले भ्रष्टाचार, मोलमोलाइ, ठेक्का र खरिद प्रक्रियामा सार्वजनिक पदको दुरुपयोग रोक्न आकस्मिक अनुगमन गर्न पनि कार्यालय प्रमुखलाई जिम्मेवार बनाइएका छन्।


