कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८३ का लागि थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। वीरेन्द्रनगरस्थित मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार साउन १ (साउने सङ्क्रान्ति/देउडा), भदौ ४ (प्रदेश स्थापना तथा शहीद दिवस) र कात्तिक ८ (कोजाग्रत पूर्णिमा) मा प्रदेशभर बिदा हुनेछ।
यस्तै, चैत १२ (धान दिवस) र असोज २२ (चन्दननाथ मन्दिर मेला) का बिदा भने जुम्ला जिल्लामा मात्र लागू हुनेछन्। साथै, असार १५ को राष्ट्रिय धान दिवसमा जुम्लाबाहेक अन्य नौ जिल्लामा बिदा दिइनेछ।
यससँगै कार्य विभाजन नियमावलीमा संशोधन गरी निर्णय राजपत्रमा प्रकाशन गर्ने पनि सरकारले जनाएको छ।


