काठमाडौं — कोरोना महामारीताका सुरु भएको व्यवसायिक साझेदारी विवादमा रूपान्तरण हुँदै दीपक भट्ट र सुलभ अग्रवाल ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार अनियमितता आरोपमा अनुसन्धानको दायरामा परेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार पाँच कम्पनीको रकम प्रयोग गरी गैरकानुनी रूपमा सेयर खरिद–बिक्री र रकम स्थानान्तरण गरिएको आशंका छ। सोही प्रकरणमा उनीहरू दुवैका बैंक खाता रोक्का गरिएका छन् भने केही व्यक्तिहरू पक्राउसमेत परेका छन्।
अनुसन्धानले भृकुटी ब्रोकरमार्फत भएको कारोबारमा नियम उल्लंघन भएको, एउटै ग्राहकको रकम अर्को ग्राहकको सेयर खरिदमा प्रयोग गरिएको र मार्जिन कारोबारका नाममा अनियमित गतिविधि भएको देखाएको छ।



