काठमाडौं । नेपाल सरकार अन्तर्गतको गृह मन्त्रालय ले सशस्त्र प्रहरी सेवाका अधिकृतहरूको बढुवा सिफारिस सम्बन्धी सूचना सार्वजनिक गरेको छ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक पदका लागि विभिन्न अधिकृतहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को व्यवस्था अनुसार समितिले निर्णय गर्दै योग्य ठहरिएका अधिकृतहरूको नामावली सार्वजनिक गरिएको जनाएको छ।
सूचनामा समावेश नामहरूमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कंडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की रहेका छन्।
गृह मन्त्रालयका अनुसार उक्त सिफारिस उपर चित्त नबुझेका सम्बन्धित अधिकृतहरूले नियमानुसार तोकिएको समयभित्र उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।
यस सम्बन्धमा आवश्यक जानकारीका लागि बढुवा उपर उजुरी सुन्ने समितिको सचिवालय, कमलपोखरी, काठमाडौंमा सम्पर्क गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ।


