गोरखा जिल्लामा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तह र मालपोत कार्यालयलाई सरकारी र सार्वजनिक जग्गाको विवरण संकलन गरी संरक्षण गर्न निर्देशन दिएको छ। साथै १५ दिनभित्र यस्ता जग्गामा बनेका अनधिकृत घरटहरा र संरचना हटाउन आग्रह गरिएको छ।
पालुङटार नगरपालिकाले पनि सूचना जारी गर्दै सार्वजनिक, नदी किनार, ऐलानी तथा पर्ती जग्गामा बनेका संरचना हटाउन १५ दिनको समय दिएको छ। समयसीमा भित्र नहटाए नगरपालिकाले नै हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट असुल गर्ने चेतावनी दिएको छ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार सार्वजनिक जग्गा संरक्षण गर्नु स्थानीय तहको जिम्मेवारी भएकाले अतिक्रमण रोक्न कडाइ गरिएको प्रशासनले जनाएको छ।


