काठमाडौँ,१५ चैत– पूर्वप्रधानमन्त्री तथा नेकपाका सह-संयोजक माधवकुमार नेपाल संलग्न रहेको पतञ्जलि जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा यो मुद्दाको सुनुवाइ हुने तय भएको छ।
तत्कालीन प्रधानमन्त्री रहँदा पदको दुरुपयोग गरी पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी (३१४ रोपनी १५ आना) जग्गा गैरकानुनी रूपमा बिक्री र सट्टापट्टा गर्न दिएको आरोप नेपालमाथि छ।
अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गर्दै नेपालबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको माग गरेको छ।
२०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठक र माघ १८ गतेको ‘ठाडो आदेश’ मार्फत सरकारी सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गरिएको अभियोगपत्रमा उल्लेख छ।


