काठमाडौं, चैत १६ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा विकासका योजनाहरूलाई तीन तहमा वर्गीकरण गरेर पेस गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारमा भएको भेटमा उहाँले लामो भाषणभन्दा ठोस समस्या र समाधानमा केन्द्रित हुन आग्रह गर्नुभयो।
प्रधानमन्त्रीले (१) तत्कालै गर्नुपर्ने, (२) आगामी बजेटअघि सम्पन्न हुने, र (३) नयाँ बजेटमा समेट्नुपर्ने गरी तीन किसिमका योजना मागेका छन्।
“कामका लागि काम” मात्र नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने ‘अर्जेन्ट’ कामका लागि तत्कालै बजेट व्यवस्था गर्न सकिने उहाँको भनाइ छ।
सांसदहरूलाई आ-आफ्नो क्षेत्रका जरुरी कामहरूको सूची प्राथमिकताका आधारमा तयार पार्न भनिएको छ।
छलफलमा सहभागी अधिकांश सांसदहरूले आ-आफ्नो क्षेत्रका आवश्यकता प्रस्तुत गरेका छन् भने केहीले विस्तृत रिपोर्ट बुझाउने बताएका छन्।


