जनकपुरधाम — मधेस प्रदेशमा आत्महत्याका घटना चिन्ताजनक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार यहाँ दैनिक ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेका छन्।
पछिल्ला तीन वर्षमा मात्रै मधेसमा ३ हजारभन्दा बढी आत्महत्या दर्ता भएका छन्। चालु आर्थिक वर्षमै करिब ७९३ घटना भएका छन्, जसमा पुरुष, महिला र बालबालिका सबै प्रभावित छन्। बालबालिकामध्ये बालिकाको संख्या उल्लेखनीय रूपमा बढी रहेको छ।
जिल्लागत रूपमा सिराहा, धनुषा, सर्लाही र रौतहटमा आत्महत्याका घटना बढी देखिएका छन् भने पर्सामा तुलनात्मक रूपमा कम छन्।
विशेषज्ञहरूका अनुसार बेरोजगारी, मानसिक तनाव, पारिवारिक विवाद, दाइजो प्रथा, प्रेम सम्बन्ध र सामाजिक दबाब प्रमुख कारण हुन्।
सुरक्षा अधिकारी र सरोकारवालाहरूले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्य सेवा, जनचेतना र स्थानीय तहको सक्रिय भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।


