काठमाडौं उपत्यकामा नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान तीव्र बनाइएको छ। आइतबार कपनका साततले, पाथीभरा र तेन्जिङ चोक क्षेत्रमा अवैध घरटहरा धमाधम हटाइएका छन्।
सरकारी निकायहरूको समन्वयमा सञ्चालन भएको अभियानअन्तर्गत धोबीखोला, विष्णुमति किनार, बालाजु–माछापोखरी र तिलगंगा क्षेत्रमा पनि संरचना हटाउने काम जारी छ। काठमाडौं महानगर प्रहरीका अनुसार आज मात्रै देवीनगरमा १५–२०, बालाजुमा ३ र तिलगंगामा ८९ संरचना हटाइँदै छन्।
हालसम्म उपत्यकाभित्र करिब २३०० भन्दा बढी अवैध संरचना हटाइसकिएको छ। प्रभावित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्दै वास्तविक सुकुमवासीको पहिचान र व्यवस्थापन गर्ने काम भइरहेको छ।


