विराटनगर — मोरङको रतुवामाई नगरपालिका–१ हटियामा लागूऔषध तस्करीमा संलग्न एक युवक पक्राउ परेका छन्। सोमबार राति भारतबाट लागूऔषध ल्याउँदै गरेको सूचनापछि खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिन हवाई फायर गरेको हो।
प्रहरीका अनुसार सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीबाट करिब ४७५ ग्राम खैरो हेरोइन बरामद भएको छ।
प्रहरी देखेपछि भाग्न खोजेपछि इन्स्पेक्टर कैलाश लिम्बूले दुई राउण्ड हवाई फायर गरेका थिए। पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

