काठमाडौं — सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त बाँकी ६ राजदूतलाई पनि फिर्ता बोलाउने तयारी गरेको छ। भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकाका लागि नियुक्त राजदूतहरूलाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
फिर्ता बोलाइनेमा चित्रलेखा यादव, डा. शंकर शर्मा, सुम्निमा तुलाधार, शिवमाया तुम्बाहाङ्फे, कपिलमान श्रेष्ठ र पूर्णबहादुर नेपाली रहेका छन्।
यसअघि सरकारले ११ राजनीतिक कोटाका राजदूतलाई फिर्ता बोलाइसकेको थियो। नयाँ सरकार गठनसँगै सबै राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने नीति अनुसार यो कदम चालिएको हो।
नेपालका दूतावासहरूमा परम्पराअनुसार ५० प्रतिशत करियर कूटनीतिज्ञ र ५० प्रतिशत राजनीतिक सिफारिसका आधारमा राजदूत नियुक्त हुने अभ्यास छ।


