विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा सामान राखेर विक्री वितरण गर्नेहरुलाई रोक लगाएको छ । शुक्रबार महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा रहेको टोलीले बजार क्षेत्रका पसल सञ्चालकहरुलाई फुटपाथबाट सरसमान हटाएको हो । महानगरले मुख्यगरि बजार क्षेत्रको मुख्य बजारबाट फुटपाथबाट हुन कारोबार तथा फुटपाथमा राखिने सरसमान हटाउन थालेको हो । पैदल यात्रुको आवागमनमा सहजता दिलाउन, बजार ब्यवस्थापन, ट्राफिक जाम न्यूनीकरणका लागि फुटपाथ सफा र खाली गराउने कार्यलाई अघि बढाएको हो । ट्राफिक जाम र अब्यवस्थित पार्किंगको दीर्घकालिन समाधानका लागि महानगरको सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहालले पहिलोदिन बजारका ९० प्रतिशत ब्यापारी तथा पसलेले फुटपाथ क्लियर गरेको जानकारी दिए । त्यसमा १० प्रतिशत ब्यापारीले भने जानकारी नहुँदा बाहिर राखिएको भन्दै सामान भित्र राखेका थिए । बजार महानगरपालिकाको टोली देखिएपछि ब्यापारीहरुले फुटपाथबाट सामान हटाएका थिए । यसका लागि महानगरले दुईदिन अघि सरोकारवारवाला निकायसंग छलफल गर्दै शुक्रबारबाट फुटपाथ खाली गराउने निर्णय गरेको थियो ।


