काठमाडौं, १८ चैत – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत नि:शुल्क सञ्चालन गर्ने तयारी गरेको छ।
श्रममन्त्री दीपककुमार साहका अनुसार, १५–१६ घण्टाको पाठ्यक्रम भिडियोमार्फत उपलब्ध हुनेछ र श्रमिकले अनलाइनै तालिम पूरा गर्नेछन्। हाल १ सय ५३ निजी संस्थाले प्रतिप्रशिक्षार्थी २ हजार १ सय रुपैयाँ लिँदै आएका थिए, सरकारले शुल्क ७ सयमा सीमित गर्दै बढी लिने संस्था अनुमति रद्ध हुने चेतावनी दिएको छ।
वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले यसले संस्थाहरूको भविष्य र हजारौं रोजगारी संकटमा पर्न सक्ने भन्दै वैकल्पिक योजना आवश्यक भएको बताएका छन्।


