काठमाडौं — सर्वोच्च अदालतले चिकित्सकले बिरामीको उपचारमा लापरबाही गरेको अवस्थामा चिकित्सक भएकै आधारमा उन्मुक्ति दिन नमिल्ने निर्णय सुनाएको छ।
सल्यानकी पार्वती गजुरेल महतारले थापाथलीस्थित अस्पतालमा शल्यक्रियापछि स्वास्थ्यमा गम्भीर हानि पुगेको मुद्दामा अदालतले उनलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने आदेश दिएको छ।
अदालतले नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालय काठमाडौँको उजुरीमा लामो समयसम्म कारबाही नगर्नुलाई गम्भीर त्रुटि ठहर गरेको छ। फैसलामा चिकित्सकले आफ्नो क्षमता र पर्याप्त होसियारी अपनाएर उपचार गरेमा मात्र कानुनी सुरक्षा पाउने स्पष्ट पारिएको छ।
सर्वोच्चले राज्यका निकायले पीडितको हकमा ढिलाइ नगर्न र न्याय प्रणालीको विश्वास कायम राख्नुपर्ने पनि औँल्याएको छ।


