अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणमा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारले जनाएको छ, राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ फिल्म बनाउने भनी नियमविपरीत १५ लाख रुपैयाँ सम्झौता गरिएको थियो, जसमा पौने १३ लाख भुक्तानी गरिएको थियो। मुद्दा अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, लेखापाल विमल साउद र चलचित्र निर्माण कम्पनीका अध्यक्ष रामजी लम्सालविरुद्ध दायर गरिएको छ।
चारै प्रतिवादीबाट १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो माग गरिएको छ। पेस्की र घर भाडा, अन्य खर्चमा नक्कली बिल पेश गरी भुक्तानी लिइएको आरोप पत्रमा उल्लेख छ।


