धरान — धरानको पिण्डेश्वर बाबाधाम मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ बिहीबारदेखि सुरु भएको छ। रथयात्रा चैत १९ गतेसम्म सञ्चालन हुने छ।
पिण्डेश्वर बाबाधाम समिति र पिण्डेश्वर महादेव मन्दिरको संयुक्त आयोजनामा बुढासुब्बा, दन्तकाली र पञ्चकन्या मन्दिरको सहयोगमा रथयात्रा भएको हो। कार्यक्रमले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने उद्देश्य राखेको छ।
रथयात्रा बुढासुब्बा मन्दिरबाट सुरु भई धरान बजारको परिक्रमा गरी पिण्डेश्वर मन्दिरमा समापन हुनेछ। अवधिभर बिहान रुद्री पूजा र साँझ भजन–कीर्तन कार्यक्रम रहनेछ।
कार्यक्रममा मन्दिरका पुजारी गोकुल पोखरेल, कोशी प्रदेश सदस्य रमेशकुमार बस्नेत, पूर्वसभामुख प्रदीपकुमार भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विद्यार्थी र भक्तजनको ठूलो सहभागिता रहेको थियो।


