काठमाडौँ — भारत सरकारले रक्सौल–काठमाडौं नयाँ विद्युतीकृत रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ। भारतका रेल्वे मन्त्री अश्विनी वैष्णवले मार्च २० मा राज्यसभामा यसबारे जानकारी दिएका थिए।
नेपालको रेल विभागले भने, आधिकारिक रूपमा भारतले प्रतिवेदन पठाएको छैन र नेपाली पक्ष अझै अनभिज्ञ रहेको बताएको छ।
सर्भेअनुसार रेलमार्ग १४० किलोमिटर लामो हुनेछ, जसमा ४१ किलोमिटर सुरुङ र बाँकी जमिनमाथि सतह मार्ग हुनेछ। १२२ साना र १०१ ठूला पुलहरू निर्माण गर्नुपर्ने योजना छ।
नेपालले फाइनल लोकेसन सर्भेमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र खानी क्षेत्रमा मार्ग नपर्ने र काठमाडौं–तराई द्रुतमार्गसँग इन्टरसेक्सन स्पष्ट पार्न सुझाव दिएको थियो। भारतले प्रतिवेदन आधिकारिक रूपमा हस्तान्तरण नगरेको कारण लागत र लगानी मोडालिटी अझै निर्धारण भएको छैन।


