काठमाडौं — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक क्यालेन्डरमा नकारात्मक असर पर्ने जनाएको छ।
पेट्रोलियम खपत घटाउने उद्देश्यले शनिवार–आइतबार सार्वजनिक बिदा राखिएपछि वार्षिक ४० दिन थप छुट्टी हुने र पाठ्यक्रम तोकिएको समयमा पूरा गर्न कठिन हुने नेसनल प्याब्सनको चिन्ता छ। यसले पठनपाठन र गुणस्तरीय शिक्षामा असर पुर्याउने र दैनिक ज्यालादारीमा आश्रित अभिभावकको व्यवस्थापन कठिन हुने बताइएको छ।
संगठनले सदस्य विद्यालयहरूलाई वार्षिक क्यालेन्डर अनुसार भर्ना वैशाख २ गतेदेखि र नियमित पठनपाठन वैशाख १५ गतेदेखि सञ्चालन गर्न निर्देशन दिएको छ।


