काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर जारी विवादबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरूको अडानमाथि प्रश्न उठाएको छ।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि नीति तथा कार्यक्रममाथि छलफल गर्न सकिने दाबी गरेका छन्। उनका अनुसार संसदीय नियमावलीमा प्रधानमन्त्री स्वयं उपस्थित हुनैपर्ने व्यवस्था छैन।
उनले विपक्षीले प्रक्रियागत छलफल रोकेर संसद् अवरुद्ध गरेको आरोप लगाउँदै “प्रधानमन्त्रीको अनुहार हेर्ने कि छलफल गर्ने” भन्ने प्रश्नसमेत गरेका छन्।
बुर्लाकोटीले सरकारले तोकेको मन्त्रीमार्फत छलफल अघि बढाउन सकिने भएकाले संसद् अवरुद्ध गर्नु उचित नभएको बताएका छन्।


