हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको लामो समयदेखि रोकिएको निर्माण कार्य पुनः सुरु भएको छ। मकवानपुरको हेटौंडा–१५, १६ र १७ क्षेत्रमा स्थानीय अवरोधका कारण रोकिएको काम सुरक्षाकर्मीको उपस्थितिमा अघि बढाइएको हो।
आयोजनाअन्तर्गत बाँकी रहेका १४ वटा टावर निर्माण कार्य अघि बढाइएको छ। स्थानीयले मुआब्जा, स्वास्थ्य जोखिम र जग्गा उपयोगबारे असन्तुष्टि जनाउँदै आएका छन्।
ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आए पनि हेटौंडा–ढल्केबर खण्ड अवरोधका कारण अलपत्र थियो। २०१३ देखि सुरु गरिएको यो आयोजना अझै पूर्ण हुन सकेको छैन। सरकारले ढिलाइका कारण वार्षिक अर्बौँ रुपैयाँ क्षति भइरहेको जनाएको छ।


