सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको आगलागीमा ६ परिवारका १३ वटा घर र गोठ जलेर नष्ट भएका छन्। स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रहरीले जनाएको छ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद र गरगहना सहित करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


