सुनसरी, जेठ ३, २०८३ — देशकै पुरानो सुनसरी–मोरङ सिँचाइ आयोजनाको ठूलो क्षेत्र अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ। आयोजनाका अनुसार करिब १११ बिघा ५ कट्ठा ३ धुर जग्गामा २,७३३ वटा घर, मन्दिर, आश्रम र अन्य संरचना निर्माण भएका छन्।
आयोजनाले सुनसरी र मोरङका विभिन्न नहर प्रणाली तथा कोलोनी क्षेत्रमा दशकौंदेखि अवैध संरचना बनेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी खाली गराउने प्रक्रिया सुरु गरेको जनाएको छ।
चतरा मूल नहर, शाखा तथा माइनर नहरहरूमा ठूलो मात्रामा घरटहरा र धार्मिक संरचना बनेका छन्। केही क्षेत्रमा प्रभावशाली व्यक्तिहरूका आश्रम र ठूला भवनसमेत निर्माण भएको उल्लेख छ।
आयोजनाले अतिक्रमणले सिँचाइ प्रणालीमा असर पारेको भन्दै सरकारी जग्गा संरक्षण र कानुनी कारबाहीका लागि प्रशासनसँग सहयोग मागेको छ। प्रशासनमार्फत अतिक्रमित क्षेत्र खाली गराउने तयारी अघि बढाइएको छ।


