एजेन्सी । लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव झन् चर्किएको छ। बुधबार भएको आक्रमणमा १८० देखि २५० भन्दा बढी मानिसको मृत्यु भएको विभिन्न स्रोतले जनाएका छन् भने हजारौँ घाइते भएका छन्।
राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा एकैपटक गरिएको आक्रमणले ठूलो क्षति पुर्याएको छ। धेरै भवन ध्वस्त भएका छन् र अस्पतालहरू घाइतेले भरिएका छन्। उद्धार कार्य जारी रहे पनि एम्बुलेन्स र औषधिको अभाव देखिएको छ।
संयुक्त राष्ट्रसंघले घटनाको कडा निन्दा गर्दै तत्काल हिंसा रोक्न आग्रह गरेको छ। यता, इजरायलले आक्रमणलाई सैन्य लक्ष्यविरुद्धको कारबाही भनेको छ भने हिज्बुल्लाहले पनि प्रतिकार जारी राख्ने चेतावनी दिएको छ।
लगातार आक्रमण र प्रत्याक्रमणले क्षेत्रीय युद्धको जोखिम बढाएको विश्लेषण गरिएको छ।


