अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शान्ति वार्तामा चाँडै निर्णय लिन चेतावनी दिएका छन्। उनले ‘ट्रुथ सोसल’ मार्फत समय सकिँदै गएको भन्दै ढिलाइ भए इरानसँग “केही पनि बाँकी नरहन सक्ने” बताएका हुन्।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता भइरहेका बेला यस्तो चेतावनी दिएका हुन्।
इरानले भने युद्ध अन्त्यका लागि प्रस्ताव पठाए पनि अमेरिकाबाट ठोस प्रतिक्रिया नआएको जनाएको छ। तेहरानले युद्धविराम, नाकाबन्दी अन्त्य र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको बताइएको छ।
अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्न र उच्च स्तरको युरेनियम हस्तान्तरण गर्नुपर्ने शर्त अघि सारेको समाचार सार्वजनिक भएको छ।


