काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (वैशाख १४)देखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ, पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइँदैछ। यो वर्ष कुल ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी छन्, जसमा नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थी रहेका छन्। देशभर १,४२० र जापानमा १ गरी कुल १,४२१ परीक्षा केन्द्र तोकिएका छन्। सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा र सबैभन्दा कम मनाङमा रहेका छन्। परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।


